Likes: 1
भारत तिमीसँग बदला लिनु छ !
हातैले निचोर्दा वासनादार रस झर्ने ईलामेली बारीका ड्याङमा फल्ने अदुवा,
ताप्लेजुङ, पाँचथरका ओसिला कान्लाहरुमा झुत्ति लाग्ने हाम्रो मगमगाउँदो अलैँची,
तिमीले
अनेकौं बहानामा कलकत्तामा रोक्यौ,
वर्षौँदेखि हाम्रा पहाडहरूमा
साना किसानहरूले अनेक कष्टले स्याहारेका चियाका मुनाहरुलाई 'Darjeeling Tea' को ट्याग लगाएर युरोप र अमेरिकामा पाउण्ड र डलरमा बेच्यौ !
निर्धो भएर हामी चुपै बस्यौँ ।
आज तिमीले ट्रकका ट्रक पठाएका चम्किला, पोटिला फलफूल र तरकारी
हाम्रा गर्भवती आमा दिदिबहिनी हरुका लागि,
नजन्मिएका भ्रुणहरुका लागि,
नवजात शिशुहरुका लागि,
हुर्किदै गरेका किशोर किशोरीका लागि,
हानिकारक छ रोकिदेउ भन्दा
तिमीले सिंहदरबार थर्कायौ,
तिमीले पाखुरा देखायौ,
र मनलाग्दी गर्यौ ।
हामी जान्दछौँ,
तिमी शक्तिशाली छौ,
बलशाली छौ,
अनि त्यतिकै हेपाहा पनि छौ ।
तिमी जे चाहन्छौ त्यो गर्छौ,
अनि हामी त्यो सहन्छौँ, जे तिमी गर्छौ
सदियौं अघि थुसिडाईडस्ले भनेजस्तै गरी ।
तर भारत पख !
तिमीसँग बदला लिन मन छ ।
हो, बदला लिन मन छ तिमी सँग ।
पख, गाउँ गाउँमा आमाको काख छोडेर,
बारी र कान्लाहरु बाँझै छोडेर,
अरबका खाडीमा भेडा चराउँदै गरेका
मेरा काका-बुवाहरु घर फर्कन देउ,
पख, कतार र मलेसियामा १४ घण्टा उभिएर
पहरा दिईरहेका दाजुभाईहरु फर्कन देउ ।
कोरियाको कठ्याङ्ग्रिँदो जाडोमा कृषि फार्ममा
काम गरिरहेका साथीभाई फर्कन देउ ।
अमेरिका, बेलायत युरोप र अष्ट्रेलियामा
घण्टौँ काम गरेर पनि पढ्दै गरेका मेरा दौतरीहरु फर्कन देउ।
ईजरायलको मरुभूमिमा सुन्तला, स्याउ, काँक्रो, गाँजर र टमाटर फलाउन सिक्दै गरेका मेरा सहपाठीहरु फर्कन देउ ।
अनि फर्कन देउ त्यहाँका बुढा-बुढिहरु स्याहारेर यहाँ
आफ्ना नानी-बाबुहरुलाई पढाईरहेका हाम्रा
काकी-आमा, माईजु र भाउजुहरुलाई
अनि, हामी पहाडका बारीहरु जोत्नेछौँ जिल्याउनेछौँ
गोठैका गाई-भैँसीको गोबरमल हालेर फलाउनेछौँ
अर्गानिक, काँडादार इस्कुषहरु, राता-राता गोलभेंडाहरु
हरिया सागपातहरु
अनि तराईका मलिला फाँटहरुमा फलाउँनेछौँ
असङ्ख्य टनका टन सुनका बालाहरु
कुना कन्दराहरुमा बाटाहरु खनेर
हुम्ला जुम्लाका रसिला स्याउहरु ढुवानी गर्नेछौ ।
अनि
तिमीले देखाएको सपनाको रेलमा हालेर
तिम्रा नानीहरुका लागि,किशोर किशोरीका लागि,
युवाहरुका लागि, वयस्कहरुका लागि,
अनि प्रौढहरुका लागि
पठाउँने छौँ
हिमालको अमृतसरि पानीले र
नेपालीका मोतीसरी पसिनाले
सोँचेको
स्वास्थ्यकर, स्वादिला फलफूल र तरकारीहरु !
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login