Beat Plastic Pollution

Category Type: Article,   Jun 25, 2018   Luna Khatiwada (Views: 744)

Likes: 0

प्लाष्टिक प्रदूषण अन्त्य गरौं

होर्डिङ बोर्डमा लेखिएको छ “पोलिथिन झोलाको प्रयोग गरि हामी आफ्नै हत्या गर्दैछौं ।” सायद जनचेतनाको लागि यो निकै सन्देश मूलक र मार्मिक लेखाइ होला, मेरो मनले यसै भन्यो । तर बिडम्बना अलि पर प्लाष्टिकजन्य घरायसी फोहोर  जलाइरहेका दुइ÷ चार परिवार पनि यही आँखाले देख्यो ।  केही समय अघि दार्जिलिङ घुम्न जाँदाको दृश्य हो यो ।


आर्थिक हिसाबमा एककिसिमको फड्को मारि बजार विस्तार व्यापक भइरहेको डोटिको दिपायल बजारमा साँझ परेपछि प्रायः जसो पसलका अगाडि फोहोर जलाउने दैनिकि पनि प्रत्यक्ष नियालेँ । प्लाष्टिक मुक्त जिल्ला इलाम र दमक नगरपालिकाका केही नगरपलिकाबासीहरुले समेत प्लाष्टिक जन्य फोहोर जलाइरहेको दृश्य पटक पटक देखेँ । मेरो देशको राजधानी काठमाडौंको कथा झनै भयानक छ । यत्रतत्र छरिएका फोहोरले राजधानी कति दूषित छ भनेर हामी सबैलाई अवगत नै छ ।
यी त प्रतिनिधि कथाहरुमात्र हुन् । देशका प्रायजसो सबै स्थानका कथा यस्तै र अझ डरलाग्दा छन् । नेपाल मात्र होइन प्लाष्टिक प्रदुषण विश्वव्यापि समस्या हो । केही दिन अगाडि बिबिसीले एउटा समाचार प्रकाशित गर्यो । समाचारमा भनिएको छ कि  समुन्द्रमा अत्याधिक प्लाष्टिक प्रदुषणका कारण समुन्द्री चराहरुको पेट प्लाष्टिकले भरिएको छ, खानाको लागि कुनै ठाउँ छैन र उनीहरु मृत्यूसँग संघर्ष गर्दैछन् । यस्तै अवस्था रहिरहने हो भने आउने दिनमा अरु प्राणीहरुको पनि यो अवस्था अवश्य आउनेछ । शहरमा छाडा छोडिएका गाइवस्तुहरुले पनि प्लाष्टिक चपाइरहेको त यहीं देखिन्छ ।


प्लाष्टिक जन्य फोहोरका कारण वातावरण र मानव जगतमा पर्ने असरहरुलाई मध्यनजर गर्दे विश्व व्यापी रुपमा स्वच्छता अभियान अन्र्तगत चलाइएका थुप्रै अभियानहरु भएपनि अपेक्षाकृत सफलता भने पाउन नसकिरहेको जस्तो देखिन्छ । हुन त प्रयोग गर्न सजिलो र हलुका भएकाले प्लाष्टिक जन्य सामानहरुको प्रयोग धेरै छ त्यही कारण पनि पूर्ण रुपमा नियन्त्रण गर्न एकदम कठिन छ तर सकेसम्म कम प्रयोग गर्न भने नसकिने होइन । प्लाष्टिक आफैंमा समस्या होइन, यसको प्रयोग हामीले कसरी गर्छौं त्यसमा भर पर्दछ । जस्तो कि एकपटक प्रयोग गरिसकेको प्लाष्टिक फेरी पनि धेरै चोटी प्रयोग गर्न सकिन्छ ।  प्रयोग गरिसकेपछि व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सकिन्छ । प्लाष्टिक जलाउँदा मानव शरीरमा मात्र होइन वातावरणमा र वायूमण्डलमा पनि असर गरिरहेको हुन्छ र यो अबैधानिक हो भनेर कानूनमा उल्लेख पनि भएको छ । प्लाष्टिक जन्य वस्तुहरु जलाउँदा नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता घातक ग्यासहरु र डाइअक्सिन नामक विषालु रसायन लगायत अन्य धातुहरु समेत वायूमण्डलमा मिसिन्छन् जसले अम्ल वर्षा गराउने, स्वासप्रश्पासमा समस्या आउने, छाला जन्य रोगहरु लानेजस्ता असरहरु देखा पर्छन् । 


यसपालीको विश्व बातावरण दिवसको नारा प्लाष्टिक प्रदुषण अन्त गरौं , सके पूनः प्रयोग गरौं, नसके बहिष्कार गरौं भन्ने थियो । यही नारालाई आत्मसाथ गर्दै नेपालमा पनि थुप्रै कार्यक्रमहरु भए । कतिले घोषणा गरे होलान् अबदेखि प्लाष्टिक प्रयोग गर्दिन वा एकदमै कम मात्र प्रयोग गर्छु । तर आज दिवस मनाएको एक महिना पनि नपुग्दै धेरैले आफ्ना बाचाहरु बिर्से । आ.... चलिहाल्छ नि , आज एकदिन त हो भन्ने जस्ता धारणाले ग्रस्त भई पसलबाट प्लाष्टिकमै सामान बोकी घर फर्किरहेका धेरै होलान् । औपचारिक कार्यक्रमहरु आयोजना गरि नेताज्यूहरुले दिगो विकासका लागि भन्दै रोपेका ति विरुवाहरुलाई कसैले स्याहार गर्दैछन् कि छैनन् होलान् ??  सब्जी पसल, किराना पसल, मासु पसल, लुगा पसल सबतिर प्लाष्टिक झोलाकै विगविगी छ । मोफसल क्षत्रहरु भन्दा राजधानी नै धेरै प्लाष्टिक प्रदुषणको जालोमा घेरिएको छ ।  देशको राजधानीमा बस्ने मानिसहरुमा चेतना नभएको त पक्कै होइन होला । फुर्सद नभएर वा सबैले फोहोर गरिरहेका छन् भनेर वा उचित व्यवस्थापन गर्ने स्थान नभएर ?? धुलो, धुँवा र ट्राफिक जामको चंगुलमा फसेको मेरो राजधानी कम से कम फोहोर मैला व्यवस्थापन मात्र भए नि अलि बैज्ञानिक ढंगको भइदिए कति राम्रो हुनेथियो ।  


प्लाष्टिक जन्य सामग्रीहरु पूर्ण रुपमा गल्न औशत ४०० देखि १००० वर्ष सम्म लाग्छ भनी अध्ययनहरुले देखाएका छन् । प्लाष्टिक जलाउँदा निस्किने हानीकारक धुँवाले वायूमण्डल र मानव स्वास्थ्यमा एकदमै असर पुर्याउँछ ।  अझ गर्भवती महिला र बच्चाहरु बढि जोखिममा हुन्छन् । एकछिनको सजिलोका लागि गरिने, देख्दा सामान्य लाग्ने यस्ता दैनिक क्रियाकलापहरुले हामी स्वयम्, हाम्रा सन्तान र हाम्रो वरिपरिको वातावरणमा भयानक असर परिरहेको कुरा प्रत्यक्ष रुपमा आम मानिसले बुझ्न सके वा चाहे भने मात्र प्लाष्टिक प्रदुषण कम गर्न सकिन्छ । जबसम्म हामीमा शिक्षा र चेतनाको स्तर बढ्दैन, समस्या जस्ताको तस्तै रहन्छ । प्लाष्टिकको अनावश्यक प्रयोग र अबैज्ञानिक व्यवस्थापन समग्र मानव जगतकै अहितका लागि हो भन्ने कुराको ज्ञात मानिसहरुको अन्तसंस्करणमा हुन सकेन भने अभियानकर्ताहरु अभियान चलाइरहन्छन् , मानिसहरु प्रदुषण बढाइरहन्छन् । रेडियो, टिभि र बोर्डहरुमा चेतनामूलक सन्देशहरु प्रवाह भइरहन्छन्, मानिसहरु निसन्देश फोहोर जलाई आफ्नै आयू घटाइरहन्छन् । तसर्थ हाल सम्म भएका प्लाष्टिक प्रदुषण न्यूनीकरणका कार्यहरुको समिक्षा गर्दै भावी कार्यनीति बनाउन आवश्यक छ । 


एकदिन यस्तो दिन आउनेछ, जुन दिन मेरो देश प्लाष्टिक मुक्त घोषित हुनेछ, कागजमा होइन व्यवहारमा  र यो दिन अवश्य आउनेछ । अनि म निष्फिक्रि गाउनेछु गीत 


गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल सुन्दर, शान्त विशाल ।।
 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More